अध्यक्ष हटाउने अभियानमा लागेकाहरूको पछाडि कुनै दम छैन’ : ओली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाउने अभियानमा लागेकाहरूको गतिविधिमा कुनै दम नभएको बताएका छन्।
इलामको फिक्कलमा शनिबार आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनले तय गरेको विधि, विधान र प्रक्रियाविपरीत अध्यक्ष हटाउने गतिविधि भइरहेको भन्दै असन्तुष्टि जनाएका हुन्।
ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही व्यक्तिले अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक नलिएको बताए।
‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेऊ न,’ ओलीले भने, ‘कोही हस्ताक्षर गर्दै हिँड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन।’
उनले पार्टीभित्र देखिएको यस्तो गतिविधि अनुशासनहीनता र अराजकताको संकेत भएको बताए। महाधिवेशनले तोकेको विधि, प्रक्रिया र समयभन्दा बाहिर गएर गरिने गतिविधिले पार्टीलाई कुनै फाइदा नपुर्‍याउने उनको भनाइ थियो।
विपक्षी र विरोधीहरूको तीव्र प्रहार सामना गरिरहेको अवस्थामा एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला पार्टीभित्रै अध्यक्ष हटाउने विषय उठाउनु गलत भएको ओलीले बताए।
‘जतिबेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। सिंगै पार्टी एकजुट भएर सामना गर्नुपर्ने बेलामा पार्टीभित्रै अध्यक्ष हटाउँछु भन्ने कुरा भइरहेका छन्,’ उनले भने।
ओलीले यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिए। पार्टीको महाधिवेशनबाट तय भएको विधि र विधानअनुसार मात्रै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्नुपर्ने उनको भनाइ थियो।
चुनावपछि पहिलोपटक पूर्वी नेपाल पुगेका ओलीलाई शनिबार झापाको चन्द्रगढी विमानस्थलमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए। त्यसपछि उनी सिधै इलामको फिक्कल पुगेका थिए।

Leave a Comment