काठमाडौँ, चैत १९ — नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र विभाजनकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो बनेको निष्कर्ष देउवा–कोइराला पक्षले निकालेको छ। धुम्बाराहीस्थित एक होटलमा मंगलबार र बुधबार बसेको बैठकले विशेष महाधिवेशनको बहानामा पार्टी विभाजित हुँदा रास्वपा दुई तिहाइ नजिक पुग्न सफल भएको ठहर गरेको हो।
बैठकमा केही नेताहरूको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको थियो। विशेषगरी गगन थापा र विश्वप्रकाश शर्माले अप्रत्यक्ष रूपमा रास्वपालाई सहयोग पुगेको आरोप लगाइएको छ। नेताहरूले पार्टीभित्रैबाट योजनाबद्ध रूपमा कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको दाबी गरेका छन्।
नेता शेखर कोइरालाले पार्टीलाई कमजोर पार्ने उद्देश्यसहित केही शक्तिहरू सक्रिय रहेको बताए। उनले पार्टी एकताका लागि संवाद आवश्यक भए पनि झुकेर सहमति गर्न नहुने स्पष्ट पारे। त्यस्तै, नेता विमलेन्द्र निधिले आफूहरू नै वैध कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।
बैठकमा कांग्रेसको वर्तमान अवस्था सुधार्न व्यापक एकताको आवश्यकता औंल्याइएको छ। नेतृ सीता गुरुङले दुई पक्षबीचको संवादहीनता अन्त्य गर्नुपर्नेमा जोड दिँदै अदालतको निर्णयलाई आधार मानेर अघि बढ्नुपर्ने बताइन्।
नेताहरूले आगामी दिनमा पार्टीलाई पुनः सशक्त बनाउन देशव्यापी संवाद अभियान सञ्चालन गर्ने र आन्तरिक एकता कायम गर्दै लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

