मङ्गलबार, १९ फागुन २०८२ | काठमाडौं
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ले निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित अधिकृतहरूलाई थप निर्देशन दिएको छ।
आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने विशेष आचरणको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न देशभरका अनुगमन संयन्त्रलाई सक्रिय बनाउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदानको अघिल्लो ४८ घण्टादेखि लागू हुने मौन अवधिसहितका प्रावधान कडाइका साथ पालना गराउन आयोगले स्मरण गराएको छ।
आचारसंहिता कार्यान्वयनको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। उनीहरूलाई जिल्लाभित्र सूक्ष्म अनुगमन गरी उल्लंघनका घटनामा तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
निर्वाचन आचारसंहिता तथा विपरीतका गतिविधि भेटिएमा जिल्ला आचारसंहिता अनुगमन समितिसँगको समन्वयमा कानुनअनुसार कारबाही गर्न आयोगले स्पष्ट पारेको छ।
प्रचारप्रसार निषेध अवधिमा कानुन र आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन प्रभावकारी अनुगमन अपरिहार्य रहेको आयोगको भनाइ छ।

