काठमाडौं, भदौ ६ — अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल ‘ए’का लागि आजको खेल महत्वपूर्ण मानिएको छ।
डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ले प्रतियोगिताको पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटको हार बेहोरेको थियो। उक्त खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल आज ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै बलियो सुरुवात गर्ने योजनामा छ।
बंगलादेश हाई–परफर्मेन्सविरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन। नेपालले गत वर्षको टप एन्ड टी–२० सिरिजमा पनि बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपाल २९ रनले पराजित भएको थियो।
यसपटक लिग चरणमा प्रत्येक टोलीले ६ खेल खेल्ने भएकाले पहिलो खेलमा पराजित भए पनि नेपाल ‘ए’सँग प्रतियोगितामा पुनरागमन गर्ने पर्याप्त अवसर छ। आजको खेलमा जित निकाल्दै टोली आत्मविश्वास बढाउने लक्ष्यमा हुनेछ।
नेपाल ‘ए’ले आज ब्याटिङमा जिम्मेवार प्रदर्शनसँगै बलिङमा विपक्षी ब्याटरलाई दबाबमा राख्न सके पहिलो जित हात पार्ने सम्भावना बलियो बन्नेछ।
नेपाल ‘ए’ पहिलो जितको खोजीमा, आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा
Leave a Comment
Leave a Comment

