काठमाडौं — इरानले अमेरिकाले तेहरानविरुद्ध अघि बढाएको नयाँ आर्थिक प्रतिबन्धको कडा विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी कदमलाई अन्य देशमाथि आफ्नो प्रतिबन्ध लागू गराउने प्रयास भन्दै आलोचना गरेका छन्।
बाघाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकासँग व्यापार गर्ने विदेशी बैंक, कम्पनी तथा वित्तीय संस्थालाई इरानसँग कारोबार रोक्न दबाब दिनु अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूको सार्वभौम समानताको सिद्धान्तविपरीत रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देश, कम्पनी र वित्तीय संस्थामाथि कडा कदम चाल्ने चेतावनी दिएका छन्। ट्रम्पले प्रस्तावित अभियानलाई उच्च स्तरको आर्थिक युद्धको संज्ञासमेत दिएका छन्।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले पनि अमेरिकी कदमको आलोचना गर्दै वासिङ्टनले कूटनीतिको मर्मविपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्।
अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढ्दै गएको छ। दुई देशबीच अन्तिम सम्झौताका लागि वार्ता गर्न तय गरिएको ६० दिने समयसीमा कुनै सहमतिबिना समाप्त भएपछि तनाव थप चर्किएको हो।
यसअघि गत जुनमा अमेरिका र इरानले शत्रुता अन्त्य गर्दै वार्ताका लागि वातावरण तयार गर्ने उद्देश्यले अन्तरिम समझदारी गरेका थिए। तर, पछिल्लो अमेरिकी प्रतिबन्धको घोषणाले दुई देशबीचको कूटनीतिक प्रयासमा थप चुनौती सिर्जना गरेको छ।
अमेरिकी आर्थिक प्रतिबन्धप्रति इरानको कडा विरोध
Leave a Comment
Leave a Comment

