काठमाडौँ, ११ पुस २०८२ । नेपाली कांग्रेसभित्र निर्धारित नियमित महाधिवेशन समयमै नहुने संकेत देखिएसँगै विशेष महाधिवेशनको माग गर्ने समूह सक्रिय बनेको छ। सोही क्रममा विशेष महाधिवेशन पक्षधरले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएका छन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका गुरुराज घिमिरेले पार्टी विधानअनुसार प्रक्रिया अघि बढाउन माग गर्दै स्मरणपत्र बुझाइएको जानकारी दिए। उनका अनुसार पार्टी नेतृत्व नियमित महाधिवेशनलाई फास्ट–ट्रयाकमार्फत सम्पन्न गर्न तयार नदेखिएपछि विशेष महाधिवेशनको विकल्प अघि सारिएको हो।
‘हाम्रो पहिलो प्राथमिकता नियमित महाधिवेशन नै हो, तर त्यसतर्फ गम्भीर प्रयास नदेखिएपछि विशेष महाधिवेशनको माग गर्नु परेको हो,’ घिमिरेले बताए।
यसअघि २९ असोज २०८२ मा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो। तर उक्त प्रस्तावलाई पार्टी केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा नबनाइएकोप्रति पक्षधर समूहले असन्तुष्टि जनाएको छ।
घिमिरेका अनुसार नेतृत्वसँग भएको अनौपचारिक भेटघाटमा विधानअनुसार प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको गुनासो छ। विशेष महाधिवेशन मागकर्तालाई औपचारिक संवादमा समेत नबोलाइएको भन्दै उनले नेतृत्वप्रति प्रश्न उठाएका छन्।
विधानले दिएको अधिकारअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान नगरे मागकर्ताले आफैं आह्वान गर्ने चेतावनी पनि घिमिरेले दिएका छन्। विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्न पाउने समयसीमा यही महिनाको २८ पुस २०८२ सम्म रहेको जनाइएको छ।

