रामेछापमा बस तामाकोशीमा खस्यो, ५ जनाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ माघ २०८२, मंगलबार | रामेछाप

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार क्षेत्रमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

प्रदेश ०३–०१–९९५ख९९७५ नम्बरको बस आज बिहान सडकबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्काल उद्धार गरी अस्पताल पुर्‍याइएका पाँच यात्रुले उपचारकै क्रममा ज्यान गुमाएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

दुर्घटनाबाट उद्धार गरिएका १३ जनामध्ये सात जनाको खुर्कोट र एक जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

अरनिको यातायात समितिका अनुसार बसमा चालक, सहचालक, बस व्यवसायी तथा यात्रु गरी १३ जना सवार थिए। जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जनाले टिकट काटेको खुलेको छ भने बाटोबाट थप यात्रु चढे–नचढेको विषयमा यकिन भइसकेको छैन।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोली उद्धारमा खटिएको छ। नदीमा डुबेको बस र सम्भावित थप यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment