रसुवाको बाढीमा ठूलो मानवीय क्षति, ९५ शव फेला; ८१ सुरक्षाकर्मीसहित सयौँ सम्पर्कविहीन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 4 मिनेट

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नदी किनारका बस्ती, सडक तथा सरकारी संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढी आएको करिब १२ घण्टा बितिसक्दा पनि कति मानिस बेपत्ता भए भन्ने यकिन विवरण आउन सकेको छैन।

बुधबार साँझसम्म सुरक्षाकर्मीले विभिन्न नदी किनारबाट ९५ जनाको शव फेला पारेका छन्। कतिपय शव पहिचान गर्न कठिन अवस्थामा रहेका छन् भने केही स्थानमा मानव शरीरका अंगसमेत फेला परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा १३, गोरखामा १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको छ।
बाढीले रसुवागढी, टिमुरे लगायतका नदी किनारका बस्तीमा ठूलो विनाश गरेको छ। रसुवागढीको ठूलो बजार रहेको क्षेत्र अहिले गेग्रान र लेदोले पुरिएको छ। भोटेकोसी नदीको दुवैतर्फ करिब ४० किलोमिटर सडकमा समेत व्यापक क्षति पुगेको बताइएको छ।
बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। बुधबार बेलुकासम्म नेपाली सेनाका ४४, सशस्त्र प्रहरीका १३ र नेपाल प्रहरीका २८ जना सम्पर्कमा नआएको सुरक्षा निकायले जनाएको छ।
रसुवाका विभिन्न प्रहरी कार्यालयका थुप्रै प्रहरीसमेत सम्पर्कविहीन छन्। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना मात्र सम्पर्कमा आएका छन्। रसुवागढी प्रहरी चौकीमा कार्यरत ९ जनामध्ये एक जना मात्र सम्पर्कमा रहेको जनाइएको छ।
त्यस्तै, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती र हाकु क्षेत्रमा कार्यरत केही प्रहरी पनि सम्पर्कविहीन छन्। सशस्त्र प्रहरीको बीओपी टिमुरेका इन्स्पेक्टरसहित ९ जना तथा मैलुङ सुरक्षा बेसका ४ जना सशस्त्र प्रहरीसमेत सम्पर्कमा छैनन्।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन भएका छन्। खोज तथा उद्धारमा मात्रै ६५६ जना नेपाल प्रहरी परिचालन गरिएको छ भने ११ सयभन्दा बढी सशस्त्र प्रहरी र सयौँ सैनिक परिचालित छन्। नेपाली सेनाले ७ वटा र निजी क्षेत्रले ८ वटा हेलिकप्टर उद्धारमा प्रयोग गरिरहेका छन्।
तर सडक तथा पुलहरू बगेर यातायात सम्पर्क विच्छेद भएकाले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको छ। हेलिकप्टरबाट उद्धार गरिए पनि प्रभावित सबैलाई तत्काल सुरक्षित स्थानमा लैजान सम्भव नभएको बताइएको छ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रसुवामा रहेका आफन्त सम्पर्कविहीन भएपछि खोजीका लागि आएका परिवारको ठूलो भीड देखिएको थियो। उद्धार गरेर ल्याइएका घाइतेलाई विमानस्थलबाट एम्बुलेन्समार्फत विभिन्न अस्पतालमा पठाइएको थियो।
बाढीमा घाइते भएका ४१ जनालाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। आपत्कालीन उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालको मेडिकल टोली त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा पठाइएको छ। फिल्ड अस्पतालका सामग्री, औषधि र आवश्यक स्वास्थ्य उपकरणसमेत प्रभावित क्षेत्रमा पठाइएको सेनाले जनाएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा रहेका ३९१ जना विदेशी पर्यटक र ९३ जना नेपाली पर्यटक सम्पर्कविहीन रहेको प्रहरीको प्रारम्भिक तथ्यांक छ। रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी र विभिन्न बैंकमा कार्यरत २६ जना कर्मचारी पनि सम्पर्कमा नरहेको जनाइएको छ।
बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रसमेत प्रभावित भएपछि सरकारी कार्यालय, बैंक, भन्सार तथा अन्य संरचनामा समेत क्षति पुगेको छ।
सुरक्षाकर्मीले बुधबार रातिसम्म खोज तथा उद्धार जारी राखेका छन्। प्रभावित क्षेत्रमा फसेका र सम्पर्कविहीन व्यक्तिको संख्या अझै यकिन हुन नसकेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार तथा खोजी कार्य बिहीबार पनि निरन्तर जारी रहने सुरक्षा निकायले जनाएको छ।

Leave a Comment