संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २३ – संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ।

संघीय संसद् सचिवालयले बिहान ११ बजे बैठक बोलाएको हो। बैठकमा संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेश स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुरुङले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। आवश्यक परे कार्यसूचीमा परिवर्तन हुन सक्ने पनि उनले बताए।

बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ स्वीकृत गर्ने प्रस्ताव रहनेछ।

सदनको कार्यसम्पादन व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ। समिति २१ सदस्यभन्दा बढी नहुने गरी बनाउने तयारी छ।

यसैबीच, प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने प्रक्रिया पनि अगाडि बढाइने सम्भावना छ। नियमावली नबनेसम्म आवश्यक काममा बाधा नपर्ने सचिवालयले जनाएको छ।

लामो समयदेखि रोकिएका जनताका मुद्दा अब संसद्मा शून्य र विशेष समयमार्फत उठाइने तयारी छ। सम्भवतः आजबाटै सांसदहरूले विशेष समयमा बोल्न पाउनेछन्।

आइतबार निर्विरोध सभामुख निर्वाचित भएका डोलप्रसाद (डीपी) अर्यालले शपथ लिएर पदभार ग्रहण गरिसकेका छन्। आजबाट प्रतिनिधिसभा बैठक सञ्चालन उनीकै अध्यक्षतामा हुनेछ।

Leave a Comment