२८ असार, बारा : क्षयरोग प्राणघातक रोग भएको कारण यसबाट बच्न सजग र सतर्क रहन कलैया उपमहानगरपालिकाका उपमेयर रोशन प्रविणले सबैलाई आग्रह गरेका छन ।
नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रिय कार्यक्रम अनुसार नेपाल क्षयरोग निवारण संस्था शाखा कार्यालय बाराले आज सदरमुकाम कलैया स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको फर्मासिस्टसँग क्षयरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले यसबाट बच्न सबैमा अनुरोध गरिन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपमेयर प्रविणले,‘ यो हावाबाट सर्ने एक प्रकारको सरुवा रोग हो । जुन एक मानिसबाट अर्को मानिसमा सजिलै सर्न सक्दछ । यो खासगरि धुलो, धुवाँ, खैनी, चुरोट लगायतबाट हुने रोग हो । धुलो र धुवाँबाट बच्न मास्कको प्रयोग गर्नु पर्ने र लागू पदार्थ खैनी चुरोट जस्ता मादक पदार्थको सेवन नगर्न नगराउन सबैमा अनुरोध गरिन । खैनी चुरोट जस्ता लागू पदार्थको सेवन गर्दा आफू मात्र होइन पुरै परिवार नै संकटमा पर्ने भएकोले यस्ता चिजहरुको सकभर प्रयोग नगर्न र यसबाट टाढै रहन उनले दिईन ।’
हाल कलैया उपमहानगरपालिकामा दुई सय ६५ जना क्षयरोगबाट ग्रसित रहेको सर्वेबाट खुलेको कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत मनोज यादवले बताए ।
कलैया उपमहानगरपालिकामा दुई सय ५० जना पुराना क्षयरोगी रहेको र २०८० मा गरिएको सर्वेमा १४ जना नयाँ क्षयरोगी फेला परेको यादवले बताए ।
पुराना दुई सय पचास जना क्षयरोगीहरु मध्ये १ जनाको मृत्यू भएको ३ जना सम्पर्क विहिन रहेको र बाँकी क्षयरोगीहरु औषधी सेवा गरिरहेको उनले बताए ।