१५५ दिनको कार्यकालपछि राजीनामा, घिसिङले सार्वजनिक गरे उपलब्धि र निर्णयहरूको विस्तृत विवरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस २४
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर १५५ दिनपछि मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो कार्यकालमा भएका निर्णय, नीतिगत सुधार र कार्यसम्पादनको विस्तृत विवरण सार्वजनिक गरेका छन्।

बिहीबार राति पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका घिसिङले त्यसपछि सार्वजनिक अपिल जारी गर्दै पद होइन, सिद्धान्त र जनउत्तरदायित्वलाई प्राथमिकता दिएको बताएका छन्। आफूले लिएको निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ छ।

घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारमा प्रधानमन्त्रीको आग्रह र नागरिकको अपेक्षाअनुसार जिम्मेवारी सम्हालेको उल्लेख गर्दै छोटो समयमै पनि ऊर्जा, पूर्वाधार, सिँचाइ र शहरी सेवामा संरचनागत सुधारको आधार तयार भएको दाबी गरेका छन्।

उनका अनुसार कार्यकालमा सबैभन्दा उल्लेखनीय उपलब्धिमा

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल असुली सुरु हुनु,

बुढीगण्डकी र अपर अरुणजस्ता ठूला जलविद्युत आयोजना स्वदेशी लगानीमै अघि बढाउने ढाँचा तयार हुनु,

नेपाल–भारत र नेपाल–बंगलादेशबीच विद्युत व्यापार विस्तार हुनु,

रुग्ण ठेक्काहरू तोडेर पुनः ठेक्का प्रक्रियामा जानु,

मनसुनजन्य विपद् व्यवस्थापनमा सक्रिय नेतृत्व
पर्छन्।

घिसिङले ऊर्जा क्षेत्रमा मात्रै करिब १९ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात, अन्तरदेशीय प्रसारण लाइन सम्झौता, ऊर्जा बन्ड स्वीकृति र स्मार्ट ग्रिड प्रणालीको थालनी भएको उल्लेख गरेका छन्।

त्यसैगरी, भौतिक पूर्वाधारतर्फ हुलाकी राजमार्ग, कमला पुल, मुग्लिन–नागढुंगा, नारायणघाट–बुटवल, बीपी राजमार्ग लगायत दीर्घकालदेखि अल्झिएका आयोजनामा गति आएको दाबी गरिएको छ। रुग्ण ठेक्का तोड्ने निर्णय राजनीतिक दबाबभन्दा माथि रहेर गरिएको उनको भनाइ छ।

शहरी विकास मन्त्रालयअन्तर्गत जेन–जी आन्दोलनबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माण, कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृति, बञ्चरेडाँडामा फोहोर व्यवस्थापन अवरोध समाधान, बागमती सफाइ अभियान जस्ता काम अघि बढाइएको उल्लेख छ।

राजीनामापछि ‘आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको’ आरोपलाई उनले नियोजित भ्रम भन्दै अस्वीकार गरेका छन्। आफू हालसम्म कुनै राजनीतिक दलको सदस्य नरहेको र औपचारिक राजनीतिक प्रवेशपछि मात्रै पार्टी रोज्ने स्पष्ट धारणा घिसिङले दोहोर्‍याएका छन्।

अन्त्यमा घिसिङले भनेका छन्,

“पद छाडेको हुँ, तर जनताको पक्ष, राष्ट्रको हित र उज्यालो नेपालको यात्राबाट कहिल्यै बाहिरिने छैन।”

उनले अब सशक्त राजनीतिक यात्रामा होमिने संकेत समेत गरेका छन्।

Leave a Comment