सशस्त्र प्रहरी बल बारा आर्थिक प्रलोभनमा पर्दा तस्करी बढ्दो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 137
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

२ असोज, बारा: सिमा सुरक्षा र चोरीपैठारी तथा राजश्व चुहावट नियन्त्रणकालागी स्थापना भएको सशस्त्र प्रहरी बाराकै मिलोमतोमा तस्करी बढेको छ ।

सशस्त्र प्रहरी आर्थिक प्रलोभनमा पर्दा सिमाक्षेत्रमा अवैध कारोबार तस्करी मौलाएको सो क्षेत्रका बासिन्दाले आरोप लगाउन थालेका छन ।

मटिअर्वा, कबहीगोठ, पिपरपाती, सिम्रौनगढ, दक्षिण झिटकैया लागायतका सिमानाकाबाट अहिले तस्करी मौलाएको हो ।

सशस्त्र प्रहरीको बीओपी, बेस, गुल्म र गणको अधिकारीहरुको आर्थिक लोभका कारण तस्करी बढेको स्थानीयको आरोप छ ।

कपडा, काजु, छोकडा, चिनी, कम्प्युटर पार्टस,हार्डवेयर, कस्मेटिक्सका समान,धान लगायतका समानहरु तस्करहरुले निर्धक्क भारतबाट नेपाल ल्याई रहेका छन ।

पिपरपाती नाकाबाट अवैध कारोबार गर्ने एकजना व्यापारीका अनुसार सशस्त्र प्रहरीका डीएसपी काली प्रसाद चौधरीले आफ्नो र सशस्त्र प्रहरीको १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहकालागी महिनावारी रकम बुझ्ने गरेका छन ।

ती व्यापारीले कति रकम दिएको नबताएपनी पहिलापहिला तिर्ने रकम भन्दा धेरै रकम तिर्नु परेको बताए ।

अहिले पिपरपाती र सिम्रौनगढ नाकाबाट अरविन्द कुमार, भोला, दिपक, मास्टर, उपेन्द्र, बिगु लगायतका तस्करहरुले सशस्त्र प्रहरीलाई महिनावारी रकम दिएर तस्करी गर्दै आएका छन ।

सशस्त्र प्रहरी उपरीक्षक सिंहले भने आफुले कसैसँग पैसा नलिएको र तस्करी नियन्त्रणगर्न प्रयासरत रहेको बताए ।

उनले खुल्ला सिमाना भएर तस्करी भएको हुन सक्ने बताए।

सशस्त्र प्रहरी नायब उपरीक्षक चौधरीले पनि आफुले कोहीकसैसँग पैसा नलिएको बताए ।

सशस्त्र प्रहरीले साँझ परेपछि तस्करी गर्न लाईन दिइएको एकजना तस्करले बताए ।

एकजना सशस्त्र प्रहरी जवानका अनुसार हाकिमहरुले महिनावारी रकम लिएर आफुहरुलाई तस्करीको मालसामान नसमात्न आदेश दिने गरेका छन ।

बाध्य भएर आफुहरु डीउटी खर्च बापत ५० रुपैयाँ देखि पाँच सय सम्म लिनु परेको ती जवानले बताए।

सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भएको विभिन्न समान केहीदिन अगाडि नेपाल प्रहरी र डीआईजीको आदेशमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।