बारामा ज्येष्ठ नागरिकलाई लुटपाट गर्ने चारजना भारतीय पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 170
पढ्न लाग्ने समय : 1 मिनेट

२१ असोज, बारा: बारामा प्रहरीले लुटपाटमा संलग्न चारजनालाई आज पक्राउ गरेको छ ।

ज्येष्ठ नागरिकलाई लुटपाट गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले कलैयाबाट पक्राउ गरेको हो ।

कलैया स्थित प्रभु बैंकबाट ५० हजार रकम झिकेका कलैया उपमहानगरपालिका वडा नम्बर-१३ का एकजना ज्येष्ठ नागरिकलाई छुरा देखाएर रकम लुटपाट गरेका चारैजनालाई प्रहरीले दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले भारत बिहार पश्चिम चम्पारण रानीपोखरीका ५९ बर्षीय सुरेश प्रसाद बानिया,३५ बर्षीय शैलेश तिवारी, ४५ बर्षीय शर्मा मुखिया र मुजफ्फरपुर बन्जरियाका ३४ बर्षीय रवि दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

उनीहरुको साथबाट एउटा भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।