काठमाडौं, जेठ २२ — सरकारले अध्ययन बिदा वा असाधारण बिदामा गएर अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको विवरण खोजी प्रक्रिया सुरु गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले जारी गरेको सूचनाअनुसार बिदा सम्बन्धी अभिलेख तथा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक विवरण अद्यावधिक गर्नुपर्नेछ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई आफ्नो निकायबाट अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको अवस्था यकिन गर्न निर्देशन दिएको छ। बिदा अवधि समाप्त भएपछि कर्मचारी कार्यस्थलमा फर्किए वा नफर्किएको विवरण संकलन गरी राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरेर अभिलेख अद्यावधिक गर्न भनिएको छ।
सरकारले लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका वा बिदा सकिएपछि पनि कार्यस्थलमा उपस्थित नभएका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको छ।
निजामती सेवाको अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्था स्पष्ट राख्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयको भनाइ छ।
सम्पर्कविहीन कर्मचारीको विवरण अद्यावधिक गर्न सरकारको निर्देशन
Leave a Comment
Leave a Comment






