१० कार्तिक, काठमाडौ : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् ।
आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारी स्थित रोज पार्टी प्यालेसमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।
वर्तमान सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउनुको विकल्प नभएको समेत उनले बताए ।
सत्तारुढ सातदलीय गठबन्धनले हिजो सडकबाट अराजकता मचाउने र व्यवस्था तथा सरकारको विरोध गर्दै बिकल्प खोज्ने काम अस्वीकार्य रहेको बताउदै गर्दा त्यसको काउण्टरमा आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिएका छन् ।
विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए ।
दिपावली तथा छठ पर्वको तयारीमा आम नेपाली रहेको बताउँदै यस्तो चाडपर्वको बेलामा समेत सरकारकै संरक्षणमा कालोबजारी र महंगी अकाशिएको साहले बताए ।
आजपाका जिल्ला संयोजक इन्दल साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष बिल्टू यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको थियो ।