बारा यातायात कार्यालय अनियमितताको अखडा, कानुन मिच्ने थलोको रुपमा परिणत हुँदै

बिश्व खबर
पढ्न लाग्ने समय : 4 मिनेट

१ श्रावण,बारा : बारा जिल्लाको कलैया स्थित यातायात व्यवस्था कार्यालय पछिल्लो समय गम्भीर अनियमितताको केन्द्र बन्दै गएको छ।
कार्यालय प्रमुख अविन्दर दासको नेतृत्वमा सञ्चालनमा रहेको कार्यालयमा ऐन, कानुन र नियमहरूको निरन्तर उल्लंघन हुँदै आएको स्रोतले जानकारी दिएको छ। कार्यालयभित्र हुने
अधिकांश कामकाज बाहिरी हस्तक्षेप, पारिवारिक संलग्नता र पैसाको आधारमा चलिरहेको खुलेको छ।

प्रमुख दास स्वयं कार्यालयको नियमित कार्य सम्पादनमा उपस्थित नहुने र आफ्ना निकट आफन्तलाई ‘छायाँ प्रमुख’ बनाएर सारा निर्णय गर्ने गरेको खुलासा भएको छ।
यातायात कार्यालय जसले कानुनी रूपमा ट्राफिक व्यवस्थापन, सवारी चालक अनुमतिपत्र वितरण तथा ट्रान्सपोर्ट क्षेत्रको अनुशासन कायम राख्नुपर्ने हो, सो कार्यालय अहिले उल्टै असंवैधानिक गतिविधिको अखडा बन्दै गएको छ।

सवारी चालक अनुमतिपत्रमा व्यापक अनियमितता

कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्स वितरण प्रक्रियामा अत्यन्त गम्भीर अनियमितता रहेको सेवाग्राहीहरूको आरोप छ। लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण नहुने व्यक्तिहरूलाई पैसा लिई पास गराइने गरिएको छ। यो कार्य ‘एजेण्ट सिस्टम’ मार्फत गरिएको देखिन्छ, जहाँ एजेन्टहरूले सेवाग्राहीसँग हजारौं रुपैयाँ असुली सिधै प्रमुख दासको समन्वयमा लाईसेन्स दिइने गरिन्छ।
एक जना सेवाग्राहीको भनाइअनुसार, “परिक्षामा फेल भए पनि एजेन्टलाई पैसा दिएपछि अर्को साताबाट लाइसेन्स घरमै आइपुग्छ। नियम, क्षमता वा योग्यता केही हेर्दैनन्।” यस्तो खाले कार्यले सवारी सुरक्षामै प्रश्न उठेको छ।

कार्यालय प्रमुख अविन्दर दास धेरैजसो समय विभिन्न ‘बैठक’, ‘अनुगमन’ वा ‘स्वास्थ्य’ का नाममा कार्यालय बाहिर रहने गर्छन्। स्रोतका अनुसार उनी आफ्ना भाइ भिखारी दासलाई ‘छायाँ प्रमुख’ बनाएर सम्पूर्ण कार्य जिम्मा लगाउने गरेका छन्। भिखारी दास कार्यालयको भित्रि सञ्चालन, लाईसेन्स वितरण प्रक्रिया, फाइल पासिङ, कर्मचारी नियन्त्रण आदि सबै कार्यमा सक्रिय छन्।
स्रोतको दाबी अनुसार, “भिखारी दास नै कार्यालय प्रमुखले गर्ने काम गर्ने गरेका छन । अविन्दर दास बाहिर भए पनि, सबै फाइल भिखारीले हेर्छन्। पैसा कति लिने हो, पास गर्ने हो कि होइन भन्ने कुरा पनि उनी नै तय गर्छन्।”

राजनीतिक संरक्षणमा फैलिएको बेथिति

कार्यालय प्रमुख दासले आफू माथि कुनै छानबिन नहोस् भनेर मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहसँग नजिकको सम्बन्ध राखेको स्रोतले दाबी गरेको छ । यस सम्बन्धकै कारण उनीमाथि आउने उजुरीहरू राजनीतिक दबाबमा थाँती राखिने तथा सम्बन्धित निकायले ध्यान नदिने गरेको ती स्रोतले दाबी गरेको छ।
दासले विगतमा रौतहटमा कार्यरत रहँदा तयार गरेको कर्मचारी टोलीलाई नै बारा ल्याएर यस्तै ढंगले मिलेमतोमा काम गराउने रणनीति अपनाएको स्रोतको भनाइ छ।

भाइ–भारदारमार्फत सञ्चालित अनियमितता

प्रमुख दासले अनियमितता व्यवस्थित रूपमा गर्न आफ्ना आफन्तलाई कार्यमा खटाएका छन्। उनका भाइ भिखारी दास कार्यालय सञ्चालनमा छन् भने अर्का भाइ बिकेश दास लाईसेन्स प्रक्रियामा पैसा उठाउने कार्यमा सक्रिय छन्। साथै, चालक सुशील सिंहलाई पनि एजेन्टहरूसँग मिलेर सवारी अनुमतिपत्र प्रक्रियामा संलग्न गराइएको छ।
यसै गरी, ट्राफिक प्रहरी नायब निरीक्षक सई किरण कार्कीलाई रौतहटबाट नै ल्याएर भिखारी दासको निर्देशनमा काम गर्न लगाइएको छ। “भिखारी दासले भनेको अनुसार सई कार्की काम गर्छन्,” स्रोतले भन्यो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आफुलाई पनि यातायात कार्यालयमा बदमासी हुने गरेको सूचना आएको जानकारी गराउँदै आफ्नो टोली अनुगमनमा जाँदा ट्रायल परीक्षा रोक्ने गरिएको र कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित हुने गरेको पाएको बताए ।
ट्रायल र लिखित परीक्षा प्रमुखको रूपमा सन्तोष सिंह रहेका छन ।
मुख्यमन्त्री सतीस कुमार सिंहले यातायात कार्यालयको अनियमितता बारेमा गम्भीर छानबिन गर्ने बताए ।

सेवाग्राही मारमा, भ्रष्टाचार मौलाउँदै

यस्तो अनियमितताले गर्दा सामान्य सेवाग्राही मारमा परेका छन्। आफ्नो समयमै परिक्षा दिएर नियम अनुसार लाईसेन्स लिन चाहनेहरू प्रक्रिया झन्झटिलो बनाएर निराश पारिन्छ भने पैसा तिर्न सक्नेहरूलाई नियम तोडेर सुविधा दिइन्छ।

सार्वजनिक माग : छानबिन र कारबाही होस्

अब स्थानीय समाज, नागरिक, पत्रकारिता क्षेत्र र सेवाग्राहीहरू सबैले एक स्वरमा माग गर्न थालेका छन् कि बारा यातायात कार्यालयमा भइरहेको अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोगमाथि छानबिन गरियोस्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यातायात व्यवस्था विभाग तथा प्रदेश सरकारको तर्फबाट निष्पक्ष अनुसन्धान सुरु गरिनु आवश्यक भएको आवाज चुलिएको छ।
यदि यस्ता विषयमा तत्काल कारबाही नगरिएमा सरकारी सेवा प्रणालीप्रति जनताको विश्वास समाप्त हुने खतरा देखिन्छ।

Leave a Comment