२० जेठ,बारा: बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-१३ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, बलिरामपुरले स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निशुल्क रक्त समूह (ब्लड ग्रुप) परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिका अन्तर्गतका श्री नेपाल आधारभूत विद्यालय सितलपुर–१२, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बलिरामपुर–१३, तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सितलपुर–७ र ८ मा अध्ययनरत विद्यार्थीहरूको रक्त समूह परीक्षण गरिएको हो।
उक्त निशुल्क परीक्षण कार्यक्रमबाट करिब १५० जना विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिएको जानकारी कार्यक्रम संयोजक डा. शिवेश पाण्डेयले दिए ।
उनका अनुसार विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो। “बच्चाहरूको स्वास्थ्य सुरक्षाका लागि रक्त समूहको जानकारी अत्यावश्यक हुन्छ,” डा. पाण्डेयले भने, “यसले आपतकालीन अवस्थामा रगत आवश्यक परेमा छिटो उपचार सम्भव बनाउँछ।”
स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. पाण्डेयको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले रक्त परीक्षण सम्पन्न गरेको थियो।


