भ्रष्टाचारको जालो: अख्तियारको मौनताले मौलाएको शुवर्ण गाउँपालिकाको लुट

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

​३ भाद्र,बारा : बाराको शुवर्ण गाउँपालिका अहिले व्यापक आर्थिक अनियमितता र भ्रष्टाचारको दलदलमा फसेको छ। गरिब र निमुखा जनतालाई आर्थिक सहयोग दिने बहानामा गाउँपालिकाले ठूलो मात्रामा रकम दुरुपयोग गरेको स्थानीयले बताएका छन्। प्राप्त जानकारीअनुसार, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर योजनाबद्ध ढंगले जनताको रकम लुटेको आरोप लागेको छ।
​स्थानीयका अनुसार, गाउँपालिका अध्यक्ष रमजेश यादवले आर्थिक वर्ष २०८०/०८१ मा ‘आर्थिक सहयोग’ को नाममा गरिब जनताको भावनासँग गम्भीर खेलबाड गरेका छन्। वास्तविक पीडितहरू, जसलाई सहयोगको सख्त आवश्यकता छ, उनीहरूले केही पाएका छैनन्। बरु, अध्यक्षका नजिकका आफन्त र आसेपासेले रकममा रजाइँ गरेका छन्। यसरी जनताको गरिबीलाई मजाक बनाइएको छ।
​महालेखा परीक्षकको प्रतिवेदनले पनि औंल्यायो अनियमितता
​महालेखा परीक्षकको कार्यालयले पनि शुवर्ण गाउँपालिकामा भएको यस अनियमिततालाई आफ्नो प्रतिवेदनमा औंल्याएको छ। प्रतिवेदनअनुसार, गाउँपालिकाले कुनै मापदण्ड र कार्यविधि तयार नगरी विभिन्न संघसंस्था र ४४ जना व्यक्तिलाई आर्थिक सहयोगका नाममा रु ४,९०,००० वितरण गरेको छ। यो रकम गाउँपालिकाको कुल आन्तरिक आयको ०.५४ प्रतिशत हो। महालेखाले स्पष्ट रूपमा यस्तो अनियन्त्रित आर्थिक सहायता वितरण प्रक्रियामा तत्काल नियन्त्रण हुनुपर्ने सुझाव दिएको छ, तर पनि सरकार मौन छ।
​अख्तियारको छानबिनपछि पनि मौनता
​यसरी खुला रूपमा आर्थिक अनियमितता हुँदा समेत सरकार र सम्बन्धित निकायहरू कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ। केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिका अध्यक्ष यादव र उनका नजिकका दुई कर्मचारीलाई ३ घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूको बैंक खातामा अप्रत्याशित रूपमा ठूलो रकम जम्मा भएको पाइएपछि अख्तियारले यो कदम चालेको थियो। सोधपुछपछि दुई कर्मचारीलाई धरौटीमा छाडे पनि अध्यक्ष यादवको मोबाइल फोन जफत गरिएको थियो। तर, यस विषयमा अख्तियारको पछिल्लो मौनताले अध्यक्षको मनोबल बढेको स्थानीयको भनाइ छ।
​अध्यक्षको रवाफ र जीवनशैलीमा परिवर्तन
​गाउँपालिकामा सुशासन र पारदर्शिताको ग्राफ तल झर्दै गर्दा अध्यक्ष यादवको जीवनशैलीमा भने ह्वात्तै परिवर्तन आएको एक स्थानीयले बताए। उनको रवाफ र खर्च गर्ने तरिका हेरिसक्नु नभएको उनले दाबी गरे। जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि यसरी व्यक्तिगत स्वार्थमा लिप्त हुँदा शुवर्ण गाउँपालिकाको विकास र जनताको जीवनस्तर झन् पछि झन् खस्कँदै गएको छ।

Leave a Comment