काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले आज नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्।
त्यसैगरी, उनले काम ढिलाइ भएको विषयमा चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराएका छन्। गृहमन्त्री गुरुङले अनुगमनका क्रममा सडक निर्माण ढिलाइका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको बताएका थिए। उनले यस्तो अवस्था चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन्।
निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने बताएका छन्।

