१८ भाद्र,काठमाडौ : पछिल्ला दिनमा सामाजिक सञ्जालमा प्रसारित “कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” शीर्षकको भिडियोले व्यापक चर्चा पाएको छ। तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले उक्त भिडियो तथ्यमा नभई नियोजित षड्यन्त्रका आधारमा तयार गरिएको दाबी गरेका छन्।
उनहरूका अनुसार केही दिनअघि कोटेश्वर क्षेत्रमा नो–पार्किङ क्षेत्रमा गाडी पार्किङ गरिँदा दुर्घटना भई एक स्कुटर चालकको मृत्यु भएको थियो। त्यसपछि ट्राफिक प्रहरीले यस्ता घटना दोहोरिन नदिन नियम कडाइका साथ लागू गर्न थालेको हो।
भिडियोमा भने ट्राफिक प्रहरीले सवारी चालकसँग प्रतिगाडी १०० देखि ५०० रुपैयाँसम्म असुल्ने गरेको आरोप लगाइएको छ। तर व्यापारीहरूको भनाइमा यो आरोप निराधार छ। “दिनरात खटिने ट्राफिक प्रहरीलाई पैसा खान्छन् भनेर गलत प्रचार गरिएको छ,” एक व्यापारीले प्रतिक्रिया दिए।
यातायात व्यवसायीहरूले पनि भिडियोमा देखाइएको दाबीलाई अस्वीकार गर्दै, आफूहरूले दशकौँदेखि कोटेश्वर क्षेत्रमा व्यवसाय गर्दा ट्राफिकले विना कारण दुःख नदिएको स्पष्ट पारेका छन्।
यसबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
स्थानीयको दाबीअनुसार, कोटेश्वरमा ट्राफिक प्रहरीमाथि लगाइएका आर्थिक आतंकका आरोप वास्तविक नभई नियोजित रूपमा प्रचार गरिएको षड्यन्त्र मात्र हो।


