गाजामा नियन्त्रण गर्ने इजरायली अभियानप्रति कतारको कडा आपत्ति

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं – १ असोज
कतारले गाजा नियन्त्रण गर्ने उद्देश्यले इजरायलले सुरु गरेको स्थलगत सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

कतारी परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई “भाइचारा सम्बन्ध भएको प्यालेस्टिनी जनताविरुद्धको युद्ध, नरसंहारको विस्तार र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन” भएको स्पष्ट उल्लेख गरिएको छ। मन्त्रालयले इजरायलको यो कदमले शान्तिका सम्भावनाहरूलाई योजनाबद्ध रूपमा कमजोर पारिरहेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएको छ।

कतारले पुनः एक पटक ‘दुई राष्ट्र समाधान’ नीतिलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आह्वान गरेको छ।
यसैबीच, गाजा सिटीमा इजरायलको लगातार हवाई आक्रमण जारी छ। स्थानीय सञ्चारकर्मीहरूका अनुसार, शहर छाड्ने क्रममा रहेका नागरिकसमेत बमबारीमा परेर मारिएका छन्। गाजा नछाड्ने अडान राखेका धेरै सर्वसाधारण पनि जीवित रहन बाध्यतावश विस्थापित भइरहेका छन्।

गत हप्तामात्रै कतारमा वार्तामा रहेका हमास अधिकारीलाई लक्षित गर्दै इजरायलले गरेको हवाई आक्रमणमा एक कतारी नागरिकसहित ६ जनाको मृत्यु भएको थियो।
कतारमा ठूलो संख्यामा नेपालीहरू कार्यरत भएकाले यो स्थिति नेपालका लागि पनि संवेदनशील मानिएको छ।

Leave a comment