इरान तनावमा यूएई तटस्थ: ‘हाम्रो भूमि सैन्य आक्रमणका लागि प्रयोग हुँदैन’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ १३ — मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो भूभाग इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि प्रयोग गर्न नदिने स्पष्ट अडान सार्वजनिक गरेको छ।

सोमबार जारी आधिकारिक विज्ञप्तिमार्फत यूएईको विदेश मन्त्रालयले आफ्नो हवाई क्षेत्र, स्थलभाग तथा जलक्षेत्र इरानविरुद्ध लक्षित आक्रमण वा रसद सहयोगका लागि उपलब्ध नगराइने दोहोर्‍याएको हो। यसलाई क्षेत्रीय द्वन्द्वबाट दूरी कायम गर्ने यूएईको कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

वक्तव्यमा यूएईले ‘सैन्य विकल्प’ भन्दा संवाद, अन्तर्राष्ट्रिय कानुनको पालना र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानमार्फत नै वर्तमान संकट समाधान हुनुपर्ने धारणा अघि सारेको छ।

यो धारणा अमेरिकाको पछिल्लो कडा वक्तव्यपछि आएको हो। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र प्रदर्शनकारीमाथि दमन भइरहेको आरोप लगाउँदै वासिङ्टनले तेहरानलाई नजिकबाट नियालिरहेको बताएका थिए। उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिसमेत बढिरहेको संकेत गरेका थिए।

खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामध्ये अबुधाबी नजिकको अल धाफ्रा एयर बेस महत्त्वपूर्ण मानिन्छ, जहाँ ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छन्। यस्तो पृष्ठभूमिमा यूएईको यो सार्वजनिक धारणा क्षेत्रीय शक्ति सन्तुलन र कूटनीतिक संवेदनशीलतासँग जोडेर विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार, यूएईले एकातिर अमेरिका जस्ता साझेदारसँग सम्बन्ध सन्तुलनमा राख्दै अर्कोतिर इरानसँग प्रत्यक्ष टकरावबाट जोगिने रणनीति अपनाएको संकेत देखिन्छ।

Leave a Comment