इनिशा विकको हत्यामा दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शनिबार ३० फागुन २०८२, काठमाडौं-सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार माइतीघर मण्डलमा युवा तथा सामाजिक अभियन्ताहरूले विरोध प्रदर्शन गर्दै पीडितलाई न्याय दिन सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागीहरूले बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका घटनामा कडा कानुनी कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्न सरकारलाई दबाब दिन प्रदर्शन गरिएको बताएका छन्। सामाजिक अभियन्ता कविता चन्द सोडारीका अनुसार महिलामाथि हुने हिंसा रोक्न राज्यले प्रभावकारी कदम चाल्न आवश्यक छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

उनीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको भए पनि अस्पताल पुगेको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

इनिशाका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले हालसम्म इनिशाको शव नबुझेको पनि बताएका छन्।

Leave a Comment