काठमाडौँ -४ असोज ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको व्यापक पुनर्गठन अनिवार्य रहेको भन्दै आफू आवश्यक परे साधारण सदस्य भएर बस्न समेत तयार रहेको बताएका छन्। उनले पार्टीको नवीकरणका लागि आफूले महामन्त्री पदबाट राजीनामा दिन पनि तयार भएको जनाएका छन्।
थापाले भदौ २३–२४ का आन्दोलन र त्यसपछि देखिएको दमन तथा घुसपैठबारे छुट्टै छानबिन आवश्यक भएको जोड दिए। उनको अनुसार आन्दोलनको पवित्रता कायम राख्न दमन र घुसपैठ दुवैको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कानुनी रूपमा कारबाही गरिनुपर्छ।
भ्रष्टाचारविरुद्ध कडा हस्तक्षेप र जिम्मेवारहरुविरुद्ध बिना प्रतिशोद्ध छानबिन हुनुपर्ने उनको माग छ। थापाले भनेका छन्—२०४६ पछि सार्वजनिक दायित्वमा रहेका सबैको सम्पत्ति र गतिविधि पारदर्शी तरिकाले छानबिन हुनुपर्छ र जसले अपराध गरे उही सजाय पाओस्।
पार्टीभित्र सुधारका दुई विकल्प प्रस्तुत गर्दै थापाले भने—वा नयाँ अधिवेशन बोलाएर सदस्यता र नेतृत्व दुवै नवीकरण गर्ने, वा पुरानै प्रतिनिधिमण्डलबाट विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने। उनले उदाहरणस्वरूप २०१४ सालको विराटनगर विशेष महाधिवेशनको स्मरण गरे जुन सुवर्णशमशेरको कमिटीले मार्गनिर्देशन गरेपछि भएको थियो।
थापाले आफूले अघि सारेको यो प्रस्ताव संवेदनशील समयमा राखिएको भन्दै सभापतिज्यूको स्वास्थ्यप्रति सम्मान रहेको र सल्लाहअनुसार अगाडि बढ्ने सुझाव दिएका छन्। तर, आवश्यक परेमा उनी र उनका समूहले सक्रिय कदम चाल्ने पनि संकेत गरेका छन्।
नेतृत्व परिवर्तन सम्बन्धी यो प्रस्तावले पार्टीभित्र मतभेद र बहसलाई जन्माएको छ। केही वरिष्ठ नेता र समूहहरूले यो सुझावमा आपत्ति जनाएको र धैर्यपूर्वक छलफलमार्फत् अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन्। संसद र पार्टी नेतृत्वमा रहेका अन्य पदाधिकारीहरूसँग छलफल भैरहेको समाचार पनि आएका छन्।
राजनीतिक विश्लेषकहरूले भन्छन् कि जेन–जी आन्दोलनले नेपाली राजनीतिक दलहरूमा थप आत्मावलोकन र संरचनात्मक परिवर्तनको दबाब सिर्जना गरेको छ र कांग्रेसभित्रको यो अभियानले भविष्यमा रणनितिक पुनर्संरचना तात्त्विक रूपमा अघि सार्न सक्छ।
गगन थापाले भिडियो सन्देशमार्फत् आफ्नो प्रस्ताब सार्वजनिक गरेका हुन् र उनले सबै तहका सदस्य तथा समर्थकहरूको साथ चाहेको उल्लेख गरेका छन्। पार्टीले आगामी दिनमा के निर्णय गर्छ भन्ने विषयमा कांग्रेसका केन्द्रीय निकाय र कार्यसमितिको बैठकहरू महत्वपूर्ण हुने देखिन्छ।

