जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा. डा. राजेन्द्र विमलको मंगलबार बिहान निधन भएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि जनकपुरस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार सोमबार राति साढे ११ बजेसम्म उनी परिवारका सदस्यसँग सामान्य रूपमा कुराकानी गरिरहेका थिए। त्यसपछि शरीरमा अचानक परिवर्तन देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको कान्छा छोरा विभाष लाभले जानकारी दिए।
सन् १९४७ मार्च २६ मा जनकपुरधाम–१० स्थित देवीचोकमा जन्मिएका विमलले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गरेका थिए। उनले कथा, कविता, गीतलगायत विभिन्न विधामा उल्लेखनीय कृतिहरू लेखेका छन्।
विमलले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर गरेका थिए भने भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए। उनी २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा समेत संलग्न भएका थिए।
लामो समयदेखि कथालेखनमा सक्रिय विमलले तराई–मधेशको सामाजिक परिवेशलाई समेटेर नेपाली आख्यान साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। साहित्य क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई २०७६ सालमा मधुपर्क सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी मिथिला क्षेत्रमा मैथिली भाषी विद्यार्थीलाई नेपाली भाषामा शिक्षा प्रदान गर्न योगदान गरेको तथा नेपाली भाषामा विभिन्न ग्रन्थ रचना गरी नेपाली वाङ्मयलाई समृद्ध बनाएको भन्दै उनलाई २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
विमलको साहित्यिक यात्रा निकै कम उमेरदेखि सुरु भएको थियो। उनी १२ वर्षको हुँदा उनको पहिलो लघुकथा ‘आर्यावर्त’ हिन्दी दैनिकमा प्रकाशित भएको थियो। १५ वर्षको उमेरमा सोही पत्रिकामा प्रकाशित ‘कचनार के पेंड’ कथा चर्चित बनेको थियो। त्यही वर्ष ‘मिथिला मिहीर’ मैथिली मासिकमा उनको ‘मुईल बच्चा’ कथा प्रकाशित भएको थियो।
एसएलसी परीक्षापछिको फुर्सदको समयमा उनले ‘चान अहाँ उदास छी’ उपन्याससमेत लेखेका थिए।
पारिवारिक स्रोतका अनुसार विमलको मंगलबार नै जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।
उनको निधनसँगै नेपाली तथा मैथिली साहित्य क्षेत्रमा एक महत्वपूर्ण स्रष्टाको अवसान भएको छ।
वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन
Leave a Comment
Leave a Comment

