कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा मंगलबार शक्तिशाली भूकम्प गएको छ। ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जनाभन्दा बढी घाइते भएका छन्।
भूकम्पपछि कालीसहित विभिन्न प्रमुख सहरमा ठूलो भौतिक क्षति भएको छ। धेरै तले भवनहरू भत्किएका कारण केही मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने आशंका गरिएको छ। उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।
भूकम्पपछि नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। उनले उद्धार, राहत तथा पुनर्स्थापनाका कामको नेतृत्व आफैँ गर्ने बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय तटीय क्षेत्रअन्तर्गत चोको प्रान्तको उत्तरपूर्वी सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का छिमेकी देश पानामा, इक्वेडर र भेनेजुएलासम्म पनि महसुस गरिएको थियो।
भूकम्पका कारण देशभर १ हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ। तीमध्ये ३७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ६१ वटा भवन भत्किएका छन्। त्यस्तै, १८ स्वास्थ्य केन्द्र र ५२ विद्यालयमा समेत क्षति पुगेको बताइएको छ।
संरचनागत क्षतिको मूल्यांकन तथा सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै काली, परेरा, मनिजालेस, किब्डो, आर्मेनिया र कार्टागो लगायत कम्तीमा ६ वटा विमानस्थलमा उडान सेवा पूर्ण रूपमा रोकिएको छ।
अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Leave a Comment