कांग्रेसमा विशेष महाधिवेशन बहस : गगन–विश्वप्रकाश हस्ताक्षर अभियानको तयारीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं -५ असोज ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किंदै गएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियानको तयारी थालेका छन्।

कांग्रेस विधानअनुसार केन्द्रीय समितिले निर्णय गरे वा महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । यही व्यवस्थाअनुसार थापा–शर्मा निकट समूह हस्ताक्षर अभियानको तयारीमा लागेको हो ।

महामन्त्री थापा निकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार विशेष महाधिवेशनबारे केन्द्रीय समितिबाट सहज निर्णय हुने अवस्था देखिएन भने हस्ताक्षर अभियान अघि बढाइनेछ । उनले भने, “२१ फागुनको चुनावका लागि तयारी अवस्थामा रहन पनि विशेष महाधिवेशनको टुंगो चाँडो लगाउनुपर्ने अवस्था भइसकेको छ ।”

यसअघि गत शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा दुवै महामन्त्रीले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन आवश्यक भएको धारणा राखेका थिए । सभापति शेरबहादुर देउवा उपचाररत रहेकाले समितिको बैठक अझै नबसेको र संस्थापन पक्ष यसबारे मौन रहेको देखिएको छ ।

विशेष महाधिवेशनको बहसले संस्थापन पक्षलाई भने सशंकित बनाएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिमाथि भएको आक्रमणपछि उपचाररत रहँदा संवेदनशील हुन नसकिएको भन्दै दुई महामन्त्रीमाथि अप्रत्यक्ष टिप्पणी गरेका छन् । तर, महामन्त्री थापाले आफूहरू संवेदनाहीन नभएको दाबी गर्दै सभापतिको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए ।

महामन्त्री थापाले भने, “सभापतिलाई नै पहिलो कदम चाल्नुस् भनेका हौँ । तर उहाँ तयार नभए, हामीसँग अघि बढ्नेबाहेक विकल्प छैन ।”

Leave a Comment