काठमाडौं, पुस २६, २०८२ — वरिष्ठ पत्रकार, बीपी विचारका प्रतिबद्ध अभियन्ता तथा नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ। ८४ वर्षको उमेरमा उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा शुक्रबार साँझ उनको निधन भएको हो।
परिवार स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका दाहाललाई उपचारका लागि अस्पताल पुर्याइँदै गर्दा पुस २५ गते साँझ उनको अन्तिम सास गएको हो। दाहालका भाइ तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले निधनको पुष्टि गरेका हुन्।
पत्रकारितासँगै सक्रिय राजनीतिमा पनि योगदान दिएका दाहाल ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्वसांसद, पूर्वमन्त्री तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहिसकेका थिए। उनले पत्रकारिता, लोकतन्त्र र प्रजातान्त्रिक मूल्य स्थापनाका लागि जीवनभर संघर्ष गरेका थिए।
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवी नजिक धोबीखोलापट्टि रहेको निजी निवासमा पार्थिव शरीर राखिने परिवारले जनाएको छ। त्यसपछि बिहान ९ः३० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
यसैबीच, दाहालकी पत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत रहेको जनाइएको छ। उनका दुई छोरा छन्—डा. सुधांशु दाहाल र हिमांशु दाहाल।
वरिष्ठ पत्रकार दाहालको निधनले नेपाली पत्रकारिता, लोकतान्त्रिक आन्दोलन र राजनीतिक क्षेत्रले एक अनुभवी, सिद्धान्तनिष्ठ र संघर्षशील व्यक्तित्व गुमाएको छ।



