स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम ‘होल्ड’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं -६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम अन्तिम चरणमा आएर रोकिएको छ । उनीविरुद्ध भ्रष्टाचारको आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्रीले सिफारिस फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ ।

आइतबार मात्रै प्रधानमन्त्री कार्कीले राष्ट्रपति समक्ष पाँच मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । सो सूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वैज्ञानिक महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेलसँगै डा. मिश्राको नाम पनि थियो । तर मिश्राको सिफारिस विवादित बनेपछि हिजो शपथग्रहण कार्यक्रम स्थगित भएको हो । आज दिउँसो २ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्

स्वास्थ्य मन्त्री बन्ने सम्भावना प्रबल बनेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी थिइन् । उनी यसअघि स्वास्थ्य मन्त्रालयमा सचिव नबनाइएको भन्दै असन्तुष्ट रहँदै लामो बिदामा बसेकी थिइन् । गत २१ फागुनमा वरिष्ठता मिचेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरिएको भन्दै उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।

जेनजी आन्दोलनका कारण मन्त्री पद रिक्त भएपछि उनी गत बिहीबार मन्त्रालय फर्किएकी थिइन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी अस्पताल र प्रसूति अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेकी छन् ।

Leave a comment