सर्लाही, असोज १५ ।
सर्लाहीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका–१ हर्दी खोलाकिनारमा माटो निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा उनीहरू पुरिएका हुन्।
मृत्यु हुनेमा महोत्तरी जिल्ला सोनमा गाउँपालिका–६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ६ वर्षीया सविवा खातुन रहेका छन्।
प्रहरीका अनुसार घटनामा तीन जना घाइते भएका छन्, तर उनीहरूको विवरण आइसकेको छैन। मृतकहरूको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
प्रहरी टोली घटनास्थल पुगेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

