संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ-राष्ट्रपति पौडेल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ-३ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा शुभकामना सन्देशमार्फत वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनु भएको छ ।
जारी शुभकामना सन्देशमा “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ वहाँले भन्नुभएको छ।”
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने अपेक्षा व्यक्त गर्नु भएको छ ।
वहाँले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नु हुदै, आन्दोलनमा योगदान पुर्‍याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गर्नु भएको छ ।
संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण दिएको उल्लेख गर्दै “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ” ।
राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै, सबै नागरिकले राज्यका सेवा सुविधामा समान पहुँच पाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई योगदान दिन सबैमा आव्हान गर्नु भएको छ ।

Leave a comment