१४ मंसिर, काठमाडौं।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेस गरेका छन्। गत २०७९ सालको निर्वाचनमा ८४ दल सहभागी भएका थिए। यो पटक ३६ दल बढेर संख्या १२० पुगेको हो।
आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि राखेको थियो। तर विभिन्न दलहरूले समय थप गर्न निवेदन गरेपछि आयोगले चार दिन थप गरी मंसिर १४ गतेसम्म दर्ता खुला राखेको थियो। थपिएको समयमै धेरै दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन्।
आयोगका सहसचिव तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनहरूको छानबिन भइरहेको छ। अध्ययनपछि योग्य ठहरिएका दललाई मंसिर २० गतेसम्म औपचारिक स्वीकृति दिइनेछ।
उम्मेदवार दर्ता र अन्य प्रमुख मितिहरू
प्रत्यक्ष (FPTP) निर्वाचन अन्तर्गत
माघ ६ – उम्मेदवारको मनोनयन दर्ता
माघ ७ – मनोनयनविरुद्ध उजुरी दर्ता
माघ ८ – उजुरी छानबिन र अन्तिम सूची प्रकाशन
माघ ९ – नाम फिर्ता दिन सकिने अन्तिम दिन तथा अन्तिम नामावली प्रकाशित
उही दिन सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
समानुपातिक (PR) प्रणाली अन्तर्गत
मंसिर २० – प्रक्रिया सुरु
मंसिर २१ – समानुपातिकमा भाग लिन दलहरूको निवेदन
मंसिर २४ – दलको प्रारम्भिक नामावली
माघ १३–१४ – बन्दसूची दर्ता
माघ २० – अन्तिम बन्दसूची प्रकाशन
निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार देशभर फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।



Leave a Reply