कलैया– १७ असोज ।
दशैंको सार्वजनिक बिदाको दिन सुवर्ण गाउँपालिका कार्यालयभित्र अराजक गतिविधि भएको आरोप लगाउँदै स्थानीयवासीले कार्यालय घेराउ गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेर स्थिति नियन्त्रणमा ल्याएको छ।
जेनजी अगुवा अजय यादवका अनुसार गाउँपालिका अध्यक्ष राजेश कुमार यादवको संलग्नतामा कार्यालयभित्र असभ्य गतिविधि भइरहेको सूचना पाएपछि हजारौँ जनता नाराबाजीसहित कार्यालय घेराउमा उत्रिएका थिए। यादवले यसअघि पनि अध्यक्ष यादव यस्ता हर्कतमा संलग्न हुँदै आएको आरोप लगाउँदै, “अब जनता आजित भएर प्रतिकारमा उत्रिन बाध्य भएका हुन्,” भने। उनले राज्यको स्रोत साधन दुरुपयोग गरी मौजमस्ती गर्नेहरूमाथि तत्काल छानबिन गरी कानूनी कारबाही गर्न माग गरे।
भीड आक्रामक बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले कम्तीमा ४ राउन्ड अश्रुग्यास प्रहार गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बिजयराज पण्डितले जानकारी दिए। उनका अनुसार भीड नियन्त्रणका लागि सुरक्षा बल परिचालन गरिएको र अहिले अवस्था सामान्य बनेको छ। भीडले ढुंगा प्रहार गर्दा गाउँपालिकाको एउटा झ्यालको सिसा फुटेको पनि उनले पुष्टि गरे।
धार्मिक पर्वको दिन सरकारी कार्यालयभित्र अशोभनीय गतिविधि हुनु गैरजिम्मेवारपूर्ण भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। यसबारे थप छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस विषयमा गाउँपालिका अध्यक्ष राजेश कुमार यादवसँग प्रतिक्रिया लिन खोजिएकोमा उनी सम्पर्कमा आउन चाहेनन्।



Leave a Reply