नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, माग पूरा नभए देशव्यापी आन्दोलनको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगन्ज, साउन १२ — वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै उनीहरूले राजीनामा बुझाएका हुन्।
गत शनिबार अस्पताल परिसरमा भएको घटनापछि दोषीमाथि कारबाही र पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। तर, आफ्ना माग सम्बोधन नभएपछि चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।
नारायणी अस्पतालका बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार अस्पतालमा कार्यरत करिब ७० जना चिकित्सकमध्ये अधिकांशले राजीनामा बुझाइसकेका छन्। उनका अनुसार सोमबार राति नै ३० जना चिकित्सकले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका थिए।
डा. रामका अनुसार मंगलबारसम्म ६० देखि ६५ जना चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकले पनि राजीनामा बुझाउने तयारी गरेका छन्।
चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्। उनीहरूले माग पूरा नभए देशभरका चिकित्सकले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
नारायणी अस्पताल घटनापछि चिकित्सकको सुरक्षा र स्वास्थ्य संस्थाको सुरक्षाको विषयमा देशभर बहस सुरु भएको छ। सरकारले दोषीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको जनाएको छ भने चिकित्सकहरूले सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।

Leave a Comment