सुनसरी अझै तनावग्रस्त : सेना सहित चारै सुरक्षा निकाय परिचालन, कर्फ्यू उल्लंघन गर्दै आगजनी र तोडफोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं/विराटनगर, साउन १२ — सुनसरीको देवानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाले जिल्लाको अवस्था अझै तनावपूर्ण बनेको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त परिचालन गरिए पनि मंगलबारसम्म स्थिति पूर्ण रूपमा सामान्य हुन सकेको छैन।
घटनापछि सरकारले सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकाल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी) तथा जिल्ला प्रहरी प्रमुखसहित केही सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ। नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डीजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना घाइते भएका थिए। त्यसयता स्थानीय क्षेत्रमा प्रदर्शन, तोडफोड र आगजनीका घटना निरन्तर भइरहेका छन्।
स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच बजारमा कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीले कर्फ्यू उल्लंघन गर्दै विभिन्न स्थानमा आगजनी, लुटपाट र सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्। कोशी गाउँपालिकाको कटान क्षेत्रमा पसलहरूमा आगजनी र लुटपाट भएको छ भने केही व्यक्तिमाथि धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ। देवानगञ्ज क्षेत्रमा चार वटा घरमा आगजनी भएको छ भने केही सर्वसाधारण घाइते भएका छन्।
इनरुवा, हरिनगर, भोक्राहा नरसिंह र देवानगञ्ज क्षेत्रमा मंगलबार पनि प्रदर्शन जारी रह्यो। केही स्थानमा दुई समूह आमनेसामने भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रण गर्ने प्रयास गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीका सवारीसाधनमा समेत तोडफोड भएको छ भने एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन्।
सुरक्षा अवस्था थप बिग्रिन नदिन नेपाली सेनाले संवेदनशील क्षेत्रमा गस्ती बढाएको छ। केही स्थानमा सेनाले हवाई निगरानीसमेत गरेको छ। गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत संयुक्त सुरक्षा परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको जनाएको छ।
यसबीच नयाँ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोली मृतक ओमप्रकाश मेहताको घर पुगेर परिवारसँग भेट गरेको छ। प्रशासनले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
देवानगञ्ज गाउँपालिकामा बसेको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत दिन तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
गृहमन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ। समितिले घाइते तथा प्रत्यक्षदर्शीको बयान संकलन गरिरहेको छ भने घटनाको वास्तविक कारण र सुरक्षा व्यवस्थापनमा भएका कमजोरीबारे विस्तृत प्रतिवेदन तयार गर्ने तयारी गरेको जनाएको छ।
प्रशासनका अनुसार सुरक्षा निकायको संयुक्त परिचालन जारी रहेकाले अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ। यद्यपि मंगलबार साँझसम्म पनि सुनसरीका प्रभावित क्षेत्रमा तनाव कायम रहेको र कर्फ्यू यथावत् राखिएको छ।

Leave a Comment