वीरगञ्ज, साउन १२ — नारायणी अस्पतालका ६७ जना चिकित्सकले आफूहरू असुरक्षित बनेको भन्दै सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको आक्रमणपछि प्रशासनको व्यवहारले थप असुरक्षा सिर्जना गरेको आरोप लगाउँदै उनीहरूले पदबाट अलग हुने निर्णय गरेका हुन्।
चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सामूहिक राजीनामापत्र मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई बुझाइएको छ। अन्य चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबै चिकित्सकले राजीनामा दिने तयारीमा रहेको उनले जानकारी दिए।
उनका अनुसार गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि सेवा सञ्चालन सहज बनाउन प्रहरी र जिल्ला प्रशासनसँग वार्ता गरिएको थियो। तर समस्या समाधान गर्नुको सट्टा चिकित्सकहरूलाई दुई–तीन घण्टासम्म नियन्त्रणमा राखी अपमानजनक व्यवहार गरिएको आरोप उनले लगाए।
डा. सिंहले आफूहरूमाथि भएको दुर्व्यवहारका कारण अस्पतालमा काम गर्ने वातावरण समाप्त भएको भन्दै सुरक्षा सुनिश्चित नभएसम्म सेवामा फर्किन नसकिने बताए।
चिकित्सकहरूले घटनाको जिम्मेवारी लिँदै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा समेत माग गरेका छन्। उनीहरूले स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
सामूहिक राजीनामापछि नारायणी अस्पतालको आकस्मिक सेवा पूर्ण रूपमा प्रभावित भएको छ। आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
चिकित्सकहरूको आन्दोलनले अस्पतालको सेवा प्रवाहमा गम्भीर असर परेको छ भने घटनाको समाधान र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायमाथि दबाब बढेको छ।
असुरक्षा र दुर्व्यवहारको आरोप लगाउँदै नारायणी अस्पतालका ६७ चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा ठप्प
Leave a Comment
Leave a Comment

