चैत १, २०८२-काठमाडौं । सरकारले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने उद्देश्यले ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद्ले ग्रहण गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदनबारे छलफल समेत भएको बताइएको छ। तर प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको जनाइएको छ।
यस प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने माग पनि विभिन्न पक्षबाट उठ्दै आएको छ।

