सुनसरीमा अनिश्चितकालीन कर्फ्यु जारी, बजार र राजमार्ग सुनसान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

विराटनगर, साउन १३ — सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक झडपपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण बुधबार बिहान जिल्लाका प्रमुख बजार, कोसी राजमार्ग र प्रभावित क्षेत्र पूर्ण रूपमा सुनसान देखिएका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले गैरकानुनी गतिविधि, ढुंगामुढा, आगजनी तथा सार्वजनिक शान्ति भंग हुने घटनापछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएका क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला तथा घेराउजस्ता सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

कर्फ्यु इटहरी उपमहानगरपालिका–१६ र १७ का महेन्द्र राजमार्ग आसपासका क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ का राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोसी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाभर लागू गरिएको छ।

मंगलबार राति कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडपपछि आगजनी र तोडफोडका घटना भएका भए पनि क्षतिको यकिन विवरण अझै सार्वजनिक गरिएको छैन।

यसैबीच, सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग भएको भन्दै फैलाइएका केही तस्बिर भ्रामक रहेको भन्दै नेपाल प्रहरीले त्यस्ता अफवाहमा विश्वास नगर्न र अपुष्ट सामग्री साझा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कर्फ्यु लागू भएसँगै बुधबार बिहानदेखि सुनसरीका मुख्य बजार, राजमार्ग तथा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अन्य सुरक्षा निकायको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Leave a Comment