बारा, असोज १८ ।
अविरल वर्षाका कारण बाराको कलैया सबस्टेसन डुबानमा परेपछि विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण (NEA) कलैया वितरण केन्द्रले जारी गरेको सूचनामा सबस्टेसनमा रहेका प्रमुख उपकरणहरू पानीमा डुबानमा परेकाले आपूर्ति बन्द गर्नुपरेको जनाएको छ।
प्राधिकरणका अनुसार सबस्टेसनको ब्रेकर र स्वीचयार्ड लगायतका महत्त्वपूर्ण उपकरणहरू पानीले ग्रस्त भएका छन्। यसकारण पानी निकास नभएसम्म विद्युत आपूर्ति पुनः सुचारु गर्न सम्भव नहुने प्रष्ट पारिएको छ।
स्थानीय बासिन्दालाई धैर्य गर्न आग्रह गर्दै प्राधिकरणले भनेको छ, “पानीको स्तर घट्नासाथ यथाशीघ्र मर्मत कार्य गरी सेवा सुचारु गरिनेछ।”
यसैबीच, कलैया र आसपासका क्षेत्र अन्धकारमा डुबेका छन्। दैनिक जीवनयापन, सञ्चार, व्यवसाय र अस्पताल सेवासमेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्। विद्युत कहिले सुचारु हुन्छ भन्ने विषय पानीको निकासको गतिमा निर्भर रहने प्राधिकरणले जनाएको छ।

