वास्तु मिलाएर कार्यकक्ष तयारी, शपथअघि बालेनको गीत सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, १२ चैत — प्रधानमन्त्रीमा शपथ लिन तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यकक्ष र क्याबिनेट बैठकस्थलमा व्यापक परिवर्तन गराएका छन्।

वास्तुशास्त्र अनुसार गरिएको परिवर्तनअन्तर्गत प्रधानमन्त्री बस्ने कुर्सीको दिशा उत्तरतर्फ फर्काइएको छ भने क्याबिनेट बैठकको आसनसमेत फेरिएको छ। कूटनीतिक भेटघाट हुने स्थान, राष्ट्रिय झण्डा राख्ने शैली र कार्यालयभित्रका सोफा समेत नयाँ ढंगले मिलाइएको छ।

बालेन निकट टोलीको समन्वयमा सह–सचिव प्रदीप परियारसहितको समूहले कार्यालयको सेटअप परिवर्तन गरेको बताइएको छ। यस क्रममा प्रधानमन्त्रीको टेबलमा रहेको सिसा हटाइएको र राष्ट्रिय निशानको स्थानसमेत परिवर्तन गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। अब कम्पाउन्डभित्र प्रवेश गर्न समेत अनुमति आवश्यक पर्ने व्यवस्था लागू गरिने तयारी गरिएको छ। अघिल्लो आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

यसैबीच, बालेनले शपथअघि आफ्नो सांगीतिक पहिचानलाई पनि निरन्तरता दिएका छन्। उनले ‘जय महाकाली’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेका छन्, जसले सार्वजनिक भएको छोटो समयमै उल्लेख्य दर्शक पाएको छ। यस गीतमा उनको चुनावी अभियानका दृश्यहरू समेत समावेश गरिएको छ।

उनी वैदिक विधिअनुसार चैत १३ गते मध्यान्ह प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्। शपथ समारोहमा शंखनाद, वैदिक मन्त्रोच्चारण र बौद्ध विधिअनुसार पाठ समेत गरिने कार्यक्रम तय गरिएको छ।

शपथपछि सोही दिन दिउँसो सिंहदरबारमै पद बहाली गर्ने कार्यक्रम रहेको छ। नयाँ सरकार गठनसँगै प्रशासनिक संरचना, कार्यशैली र प्रतीकात्मक व्यवस्थामा पनि परिवर्तन देखिन थालेको छ।

 

Leave a Comment