गोली हान्नुस् न सर’ भन्दै चर्चित बनेका यमबहादुरले गरे आफ्नै आमाको निर्मम हत्या

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मिति : २०८२ असोज २०, सोमबार
स्थान : हेटौंडा

जेन–जी प्रदर्शनका क्रममा प्रहरीसँग ‘गोली हान्नुस् न सर, म डराएको छु?’ भनेर भाइरल भएका धादिङका यमबहादुर कँडेलले आफ्नै आमाको हत्या गरेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापा कटेरीमा आइतबार राति १० बजे ३० वर्षीय यमबहादुरले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

स्थानीयका अनुसार, यमबहादुरले घरमै खुँडाले आक्रमण गरी आमाको टाउको र शरीर छुट्याएका थिए। घटना देख्ने बुबा रामबहादुर कँडेल पनि सख्त घाइते भएका छन्। छिमेकीका अनुसार यमबहादुरले आमाको हत्या गरेपछि १२ वर्षका भान्जा र बुबालाई समेत मार्ने प्रयास गरेका थिए।

वडाध्यक्ष कुशबहादुर सिटौलाका अनुसार यमबहादुर काठमाडौँमा एड्भेञ्चर अफिस चलाउँथे र दशैं मनाउन घर आएका थिए। घरमा सामान्य माहोल रहे पनि आइतबार राति उनी अचानक आक्रामक बनेका थिए।

“आमा तल झरेकी मात्रै थिइन्, उनले गर्धनमा तीन पटक प्रहार गरेछन्,” सिटौलाले भने, “टाउको छुट्याएर केही पर फालिदिएका रहेछन्।”

स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि यमबहादुरलाई नियन्त्रणमा लिइएको छ। उनलाई हाल जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ।

प्रहरीका अनुसार, यमबहादुरको बिहेवारी स्वभाव निडर थियो र उनका नाममा अभद्र व्यवहार, ज्यानमार्ने प्रयास र लागुऔषध मुद्दा गरी ३–४ वटा उजुरीहरू दर्ता छन्।

धादिङ अस्पतालमा राममायाको शव पोष्टमार्टमका लागि राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a comment