सरकारले भदौ २३ लाई ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शहीद परिवारका सदस्यलाई फोटोसहित पहिचानपत्र वितरण

१५ मंसिर, काठमाडौं ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकको सम्झनामा अब प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो मिति औपचारिकरूपमा शहीद दिवसका रूपमा घोषित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

सरकारले आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूलाई यसअघि नै शहीद घोषणा गरिसकेको थियो। हालसम्म ४५ जनालाई शहीद सूचीमा समावेश गरिएको छ।

यससँगै, शहीद परिवारका नजिकका सदस्यलाई राज्यले विशेष पहिचान व्यवस्था गर्ने निर्णय पनि गरेको छ। अब शहीद भएका व्यक्तिका आमा–बाबु, श्रीमती तथा अविवाहित छोराछोरीलाई सरकारले फोटोसहितको पहिचानपत्र (ID Card) प्रदान गर्नेछ।

मन्त्रिपरिषद्को निर्णय अनुसार, यो कार्ड शहीद परिवारको औपचारिक पहिचानका लागि प्रयोग हुनेछ र आवश्यक सरकारी सेवामा प्राथमिकता दिलाउने व्यवस्था पनि रहने अपेक्षा गरिएको छ।

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदानलाई दीर्घकालसम्म सम्मानित बनाउने उद्देश्यले यो कदम उठाएको जनाएको छ।

Leave a comment