जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटी र त्रिविले पुनः परीक्षा लिने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २४ असोज २०८२

जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) दुबै संस्थाले पुनः परीक्षा लिने निर्णय गरेका छन्।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार आन्दोलनका क्रममा १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए। ती उत्तरपुस्तिका प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएको अवस्थामा आगलागी हुँदा नष्ट भएका हुन्। परिषद्ले नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि उत्तरपुस्तिका जलेका परीक्षार्थीका लागि पुनः परीक्षा लिने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका जलेका छन्।

जलेका उत्तरपुस्तिका व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकायका ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षा अन्तर्गतका हुन्। ती परीक्षा गत भदौ २२ गतेदेखि सञ्चालन भएका थिए।

२२ र २३ असोजमा सम्पन्न परीक्षाका उत्तरपुस्तिका सुरक्षाका लागि प्रहरी चौकीमा राखिएका थिए। तर आन्दोलनकै क्रममा चौकीमा आगलागी हुँदा ती उत्तरपुस्तिका पूर्ण रूपमा नष्ट भएका छन्।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले ती परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको छ। सम्बन्धित परीक्षा केन्द्र र क्याम्पसहरूले विद्यार्थीलाई नयाँ परीक्षा तालिका अनुसार तयारी गर्न सूचना दिने भएका छन्।

शैक्षिक संस्थाका अनुसार, यो निर्णयले आगलागीका कारण परीक्षाफलबाट वञ्चित भएका विद्यार्थीलाई आफ्नो शैक्षिक अधि–क्रम निरन्तरता दिने अवसर प्रदान गर्नेछ।

Leave a comment