काठमाडौं, माघ ३, २०८२ । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउन आज सचिवालय बैठक बस्दैछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवार चयन प्रक्रिया टुंग्याउन लागेको हो ।
यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् । ती सिफारिसका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अगाडि आएको जनाइएको छ ।
हालसम्म एमालेले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नगरेकाले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नबाट उम्मेदवार अघि सार्ने तयारी गरेको छ । यसअघिको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी २१ फागुन २०८२ मा हुने कार्यतालिका छ ।

