हमासले छाड्न लागेको २० जनाको सूचीमा विपिन जोशीको नाम छैन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२४ असोज, काठमाडौं ।

इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि हमासले छाड्ने भनिएका २० जना युद्धवन्दीहरूको सूची सार्वजनिक भएको छ। तर, सो सूचीमा नेपालका विद्यार्थी विपिन जोशीको नाम समावेश गरिएको छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार विपिन जोशीको नाम उक्त सूचीमा नरहेको र उनको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको बताएका छन्। उनले भने, “अहिलेसम्म विपिनको जीवनको बारेमा कुनै ठोस जानकारी छैन, तर हामी निरन्तर प्रयासरत छौं।”

अमेरिकाको पहलमा दुई वर्षदेखि चलिरहेको इजरायल–हमास युद्ध रोक्ने सहमति बिहीबार भएको थियो। सो सहमतिअनुसार पहिलो चरणमा हमासले आफ्नो नियन्त्रणमा रहेका ५० जना (जीवित र मृतक गरी) युद्धवन्दीहरूलाई छाड्ने कुरा भएको हो।

तर सोमबारभित्र छाडिने भनिएका पहिलो २० जनाको सूचीमा सबै इजरायली नागरिकहरू रहेको इजरायली अधिकारीहरूले बताएका छन्।

कञ्चनपुरका विपिन जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा बन्धक बनाएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो। विपिनलाई त्यतिबेलै हमास लडाकुहरूले आफूसँगै लगेका थिए।

जोशीलाई अन्तिम पटक २०२३ नोभेम्बर १७ मा गाजाको अल–शिफा अस्पतालमा देखिएको पुष्टि भएको थियो, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी आएको छैन।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास भइरहेकाले इजरायल सरकारको तर्फबाट जुनसुकै अवस्थाको सूचना आउन सक्ने बताएका छन्। मन्त्रालय स्रोतका भनाइअनुसार, “विपिनको बारेमा इजरायल सरकारबाट जुनसुकै अवस्थाको खबर आउन सक्छ, त्यसका लागि परिवारलाई तयार रहन भनिएको छ।”

विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका नेपाली विद्यार्थी हुन्। उनका परिवार र सरकार दुवै पक्षले उनको अवस्थाबारे चाँडो स्पष्ट जानकारी आउला भन्ने आशा व्यक्त गरेका छन्।

Leave a comment