पर्साका प्रहरी प्रमुख परिवर्तन, एसपी पवन भट्टराईले सम्हाले जिम्मेवारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन १३ — जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व परिवर्तन गरिएको छ। पर्साका प्रहरी प्रमुख एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईलाई सरुवा गरिएको छ।

सरुवापछि एसपी भट्टराई बुधबार नै पर्सा पुगेर जिम्मेवारी सम्हाल्न गएका छन्। उनी जेनजी आन्दोलनपछि पाल्पाबाट काठमाडौं प्रहरी परिसरमा सरुवा भई प्रवक्ताको जिम्मेवारी निभाइरहेका थिए।

यता, काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई दिइएको छ।

एसपी सुदीप पाठकमाथि वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनापछि चिकित्सकसँग भएको छलफलका क्रममा वार्ता टोलीप्रति अभद्र व्यवहार गरेको आरोप लागेको थियो। सो घटनापछि नेपाल चिकित्सक संघ तथा चिकित्सकहरूले उनको सरुवाको माग गर्दै विरोध जनाएका थिए।

एसपी पाठक २०८२ साल असोजदेखि जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा कार्यरत थिए। पछिल्लो सरुवासँगै पर्सा प्रहरीको नेतृत्व अब एसपी पवन भट्टराईले सम्हाल्ने भएका छन्।

Leave a Comment