काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा अध्यागमन नीति अघि सार्दै तेस्रो विश्वका देशबाट आउने शरणार्थीलाई सधैँका लागि प्रवेश निषेध गर्ने घोषणा गरेका छन्। वासिङ्टन डीसीमा दुई नेसनल गार्ड्सको हत्या भएपछि प्रेस ब्रिफिङमार्फत उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
ट्रम्पले अमेरिकामा बढ्दो अपराधको मुख्य कारण ‘गलत अध्यागमन नीति’ रहेको दाबी गर्दै भने, “जो मानिस हाम्रो देशका लागि फाइदाजनक छैनन् वा अमेरिकालाई माया गर्दैनन्, ती सबैलाई हटाइन्छ।”
१९ देशका प्रवासीको ग्रीन कार्ड पुनःजाँच
ट्रम्प प्रशासनले अफगानिस्तानसहित १९ ‘चिन्ताजनक देश’ (कन्सर्न कन्ट्रीज) का प्रवासीको ग्रीन कार्ड र नयाँ अध्यागमन आवेदन कडा रूपमा पुनर्परीक्षण गर्ने निर्णय गरेको छ।
अमेरिकी सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (USCIS) ले नयाँ गाइडलाइन २७ नोभेम्बरसम्म लागू भइसकेको जनाएको छ। अब यी देशका प्रवासीहरूले पाइसकेको स्थायी बसोबास अनुमति समेत पुनःजाँच गरिनेछ।
गैर–नागरिकलाई सरकारी सुविधा बन्द
ट्रम्पले अब कुनै पनि गैर–नागरिकलाई सरकारी सुविधा, अनुदान वा सहयोग नदिने घोषणा गरेका छन्। देशको सुरक्षामा जोखिम ठानिने वा सार्वजनिक बोझ ठहरिने विदेशीलाई नागरिकता खोसिनेसम्मको चेतावनीसमेत उनले दिएका छन्।
अफगान शरणार्थीले नेसनल गार्ड्समाथि गोली चलाएको घटना
बुधबार ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड्समाथि गोली प्रहार भएको थियो। एफबीआईका अनुसार, पक्राउ परेका व्यक्ति २९ वर्षीय अफगान शरणार्थी रहमानुल्लाह लाकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए।
यस घटनापछि अमेरिकाले अफगान नागरिकसँग सम्बन्धित सबै अध्यागमन प्रक्रिया अनिश्चितकालका लागि रोकिदिएको छ।
अमेरिकी जनताको सुरक्षालाई प्राथमिकता
USCIS का अधिकारीहरूका अनुसार, सुरक्षा जोखिम बढिरहेको निष्कर्षपछि अध्यागमन प्रणालीको सम्पूर्ण पुनरावलोकन थालिएको हो। नयाँ समीक्षा पूरा नहुँदासम्म कुनै पनि अफगान नागरिकका अध्यागमन प्रक्रिया अघि बढ्ने छैन।
अमेरिकी न्याय विभागले घटनालाई ‘आतंकवादी हमला’ को रूपमा अनुसन्धान गरिरहेको छ। राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा थप ५०० नेसनल गार्ड्स परिचालन गर्न निर्देशन दिएका छन्।
एक अधिकारीका अनुसार, गोली लागेका गार्डमध्ये एकको स्थिति गम्भीर रहेको छ। भिडियो सन्देशमार्फत ट्रम्पले आरोपितलाई “जनावर” भन्दै कडा सजाय हुने चेतावनी दिएका छन्।
ट्रम्पका अनुसार, बाइडेन प्रशासनको अवधिमा अनुसन्धानबिना २ करोडभन्दा बढी विदेशी अमेरिका प्रवेश गरेकाले अहिले देखिएको संकट उत्पन्न भएको हो। उनले पूर्ण ‘रिभर्स माइग्रेसन’ अर्थात् अवैध तथा समस्या उत्पन्न गर्ने व्यक्तिलाई फिर्ता पठाउने नै एक मात्र दिगो समाधान भएको बताए।



Leave a Reply