वीरगञ्जमा अवैध सुन बरामद व्यवसायी अभिषेक सर्राफ पक्राउ, छानबिन जारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ असोज, वीरगञ्ज । वीरगञ्जका सुन व्यवसायी अभिषेक सर्राफको घर र पसलमा छापा मार्दा ठूलो परिमाणमा स्रोत नखुलेको सुन र चाँदी बरामद गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार वीरगञ्ज–८ माईस्थानस्थित सर्राफको घर, व्यापारिक स्थल र गोदाममा छापा मारेको थियो । टोलीले सुन, चाँदीका गहना, बहुमूल्य वस्तु तथा कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

सर्राफ ‘अभिषेक ज्वेलर्स’का सञ्चालक हुन् । उनलाई राजस्व चुहावटको आशंकामा नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीहरू हाल वीरगञ्ज सुनचाँदी व्यवसायी संघको कार्यालयमा तौल र कानूनी प्रक्रिया पूरा गर्नका लागि पठाइएको छ ।

यो घटनापछि वीरगञ्जका अन्य सुन व्यवसायीहरूमा ठूलो हलचल देखिएको छ । केही व्यवसायीहरूले ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अन्यायपूर्ण’ भन्दै छापाको विरोधमा नाराबाजी समेत गरेका छन् ।

तर राजस्व अनुसन्धान कार्यालयले भने छापा कानूनी प्रक्रिया अनुसारै गरिएको र यस प्रकरणमा थप अनुसन्धान जारी रहेको स्पष्ट गरेको छ ।

Leave a comment