१६ असार,मलंगवा : सर्लाही पर्सा प्रहरी चौकीको क्षेत्रबाट व्यापक रूपमा तस्करी भइरहेको खुलासा भएको छ।
सीमामा सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मी आफैं तस्करीमा संलग्न रहेको स्थानीयको आरोप छ। प्रहरी चौकी पर्साका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) मेथुर यादवले स्थानीय व्यापारीहरूसँग मासिक रकम असुली गरी तस्करीलाई सहज बनाएको स्रोतले दाबी गरेको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सई यादवले आठ महिनादेखि उक्त चौकीको नेतृत्व सम्हाल्दै आएका छन् ।
यस अवधिमा उनले जिल्ला प्रहरी कार्यालयका एसपी र प्रदेशका डीआईजीलाई समेत ‘मोटो रकम’ बुझाउँदै आएको आरोप लागेको छ। यही कारण, तस्करीका गम्भीर आरोपहरू लागे पनि उनको सरुवा भएको छैन ।
स्थानीय एकजना व्यापारीका अनुसार सई यादवले मासिक सातदेखि दस लाख रुपैयाँसम्म असुल्ने गरेका छन ।
सई यादवलाई रकम बुझाउने व्यापारीहरूमा सुकनाहाका उमेश साह, भारतको इनर्वाका विजय र पुकार, कृष्ण यादव, अजय साह, विनोद साह, नरेश यादव, हिरेन साह, पदम भुजेल लगायत रहेका छन ।
सई यादवको मिलोमतोमा सीमावर्ती क्षेत्रका ‘भाईलोग’ संगठित समूहसँग मिलेर कपडा, धान, गहुँ, कस्मेटिक्स, गाजा, कबाड, र लागू पदार्थहरू तस्करी गर्दै आएको स्रोतले दाबी गरेको छ ।
व्यापारीहरूले मासिक रुपमा नजराना बुझाएपछि सुरक्षा निकायको आँखा छल्दै खुलेआम तस्करी गर्ने गरेको देखिन्छ। भारतसँगको खुला सीमाको फाइदा उठाउँदै तस्करी गरिने वस्तुहरू रातको समयमा मोटरसाइकल, टेम्पो र ट्र्याक्टरमार्फत सीमा पारि पुर्याउने गरेका छन । प्रहरी चौकीका इन्चार्जको सहमतिमा ‘तस्करी पास’ हुने गरेको एकजना व्यापारीले खुलासा गरे ।
स्थानीयवासीको गुनासो छ— तस्करीले गर्दा सीमावर्ती क्षेत्रको सामाजिक संरचना नै कमजोर हुँदै गएको छ। युवा पुस्ता नशा र गैरकानुनी धन्दातर्फ आकर्षित भइरहेको र सुरक्षाकर्मीको संलग्नताले गर्दा जनतामा प्रहरीप्रतिको विश्वास दिनप्रतिदिन घट्दै गएको देखिन्छ ।
प्रहरी संगठनमा सुधारका लागि सरुवा, अनुसन्धान र कारबाहीको प्रक्रिया नियमितरूपमा सञ्चालन हुनुपर्ने जनताले माग गरेका छन्। तर, उच्चपदस्थ अधिकारीलाई नै रकम बुझाउने र पहुँच निर्माण गर्ने कार्यले गर्दा यस्ता सुरक्षाकर्मीहरूलाई संरक्षण मिलिरहेको देखिन्छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र खडकाले सई यादवसंग आफुले रकम नलिएको दाबी गर्दै तस्करी बारेमा अनुसन्धान गर्ने बताए । सई यादवले आफ्नो नाकाबाट तस्करी नभएको दाबी गरे ।
प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले अनुसन्धान थाल्ने वा सार्वजनिक रूपमा जवाफ दिने भने हालसम्म कुनै संकेत देखिएको छैन।
सई यादवको बारामा सरुवा भएपनी प्रहरी उपरीक्षक खडकाले रवाना नदिएर संरक्षणगरि राखेका छन ।
Leave a Reply