मधेसमा सत्ता फेरबदल: पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल नयाँ मुख्यमन्त्री बन्ने सहमति

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२९ असोज, जनकपुरधाम ।
मधेस प्रदेशमा पुनः सत्ता समीकरण परिवर्तन हुँदैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा नयाँ सरकार गठन गर्न पाँच दलबीच सहमति जुटेको छ । जसमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।

पाँच दलका नेताहरूको हिजो राति र आज बिहान जनकपुरमा बसेको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्री बनाउने सहमति गरेको एक सहभागी नेताले जानकारी दिएका छन् । यद्यपि मन्त्रालयको भागबन्डा भने अझै टुंगो लाग्न बाँकी छ ।

हालका मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सोही अनुसार पाँच दलका नेताहरू ५६ जना सांसदको हस्ताक्षरसहित सोनलको नेतृत्वमा सरकार गठनको दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदैछन् ।

बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थिती रहेको थियो । जसपाबाट मनिष सुमन, जनमतबाट महेशप्रसाद यादव, माओवादी केन्द्रबाट युवराज भट्टराई, लोसपाबाट जैलुनराइन र एकीकृत समाजवादीबाट गोबिन्द बहादुर न्यौपाने सहभागी थिए ।

मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्, जसमा सरकार बनाउनका लागि ५४ सिट आवश्यक पर्छ । पाँच दलको संयुक्त सिट संख्या ५७ पुग्ने भएकाले नयाँ सत्ता गठबन्धनको बहुमत सुनिश्चित भएको देखिन्छ ।
दलगत हिसाबले जसपाको १९, जनमतको १३, माओवादी र लोसपाको ९–९ र एकीकृत समाजवादीको ७ सिट रहेको छ ।

नयाँ गठबन्धनको औपचारिक घोषणा र मुख्यमन्त्रीमा सोनलको दाबी आज दिउँसोभित्र हुने अपेक्षा गरिएको छ ।

Leave a comment